सोनु कुमार महतो | जेष्ठ ९, शुक्रबार | रौतहट
रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ मा अवस्थित माध्यमिक विद्यालय पथराको प्राङ्गणमा रहेको पोखरीको सुरक्षा र संरक्षणका लागि स्थानीयवासीहरूले बाउन्ड्रीवाल (घेराबारा) निर्माणको माग गरेका छन्।
जिल्लाको सदरमुकाम गौरबाट करिब ३ किलोमिटर उत्तरपूर्वमा रहेको सो विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालय क्षेत्रभित्र झण्डै ५ विघा क्षेत्रफलमा फैलिएको पोखरी रहेकाले, यसले स-साना बालबालिकाको सुरक्षामा चुनौती पैदा गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभु प्रसाद यादवले जानकारी दिए।
उनका अनुसार, पोखरीको चारैतिरबाट कुनै किसिमको घेराबारा नभएकोले दैनिक पठनपाठनमा संलग्न बालबालिकाहरू ज्यान जोखिममा परिरहेका छन्। उनले विद्यालय, विद्यार्थी तथा सम्पूर्ण क्षेत्रको हितलाई ध्यानमा राख्दै पोखरी वरिपरि बाउन्ड्रीवाल निर्माण गरिनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय निकाय तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेका छन्।
साथै, पोखरीलाई सरसफाइ, संरक्षण र डुङ्गा सञ्चालन जस्ता सुविधासहित पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको उनले बताए। यसै क्रममा विद्यालयको नाममा रहेको अन्य खाली सरकारी जग्गामा पनि आवश्यक भौतिक पूर्वाधार निर्माण गरी शैक्षिक तथा सामुदायिक हितका लागि प्रयोग गर्न सकिने जनाइएको छ।
स्थानीयवासीहरूका अनुसार उक्त योजनालाई संघीय, प्रदेश र स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायहरूको सहकार्यमा कार्यान्वयन गर्न सकिने आशा गरिएको छ। पोखरीको संरक्षण र विद्यालय क्षेत्रमा पूर्वाधारको विकासले विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।










