२८ माघ, मुम्बई । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्डसँगको खेलपछि आफुहरूले कठिन परिस्थितिमा दबाब कसरी सम्हाल्ने भन्ने कुरा सिकेको बताएका थिए ।
त्यही सिकाइका साथ अझ परिपक्क हुँदै नेपालले अभ्याससहित ३ दिनको आरामपछि समूह चरणको आफ्नो दोस्रो खेलमा बिहीबार इटलीसँग खेल्दैछ । पहिलोपटक विश्वकप खेलिरहेको इटली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो ।नेपाल पनि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । त्यसकारण नेपाल र इटली दुवै पहिलो जितको खोजीमा हुनेछन् । यो खेलमा विजयी हुने टोलीले सुपर ८ सम्भावना कायमै राख्नेछ भने पराजित हुने टोलीलाई सुपर ८ को सम्भावना कठिन बन्नेछ ।
अर्को एउटा रोचक कुरा के छ भने इटलीसँग क्रिकेटमा नेपालको १३ वर्षपछि फेरि भेट हुँदैछ । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो ।बिहीबार हुने खेल यी दुई टोलीबीचको पहिलो टी-२०आई भिडन्त हुनेछ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन ।
इंग्ल्यान्डसँग जितको नजिक पुगेर पराजित भएपछि नेपाली टोलीले विश्वभरबाट प्रशंसा पाइरहेको छ । प्रशंसाका बीच एक्सपोजर भने पर्याप्त नपाइरहेको अवस्थामा नेपाली टोलीले जुन टिमसँग खेल्दा पनि दबाब सम्हाल्ने कुरामा भने ध्यान दिनुपर्ने अवस्था बनिरहेको छ ।कप्तान रोहित पौडेलले आगामी खेलका लागि मनोबल उच्च भएको बताएका छन् । ‘हामीले विश्वकपको उत्कृष्ट टोलीमध्ये एकसँग खेलिसकेका छौं, त्यसले इटाली विरुद्धको खेलका लागि मनोबल बढाएको छ’ उनले भने ।
आईसीसी टी-२० आई वरियतामा २७औं स्थानमा रहेको भएपनि इटलीविरुद्ध खेल्दा नेपाली टोली सजग हुनेछ । किनभने इटली उदाउँदो क्रिकेटिङ राष्ट्र मात्र नभएर अनुभवी खेलाडीहरूले भरिएको टिम समेत हो । अस्ट्रेलियादेखि दक्षिण अफ्रिकासम्म खेलेका खेलाडी इटलीमा छन् ।















