३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई तोकिएको समयभन्दा एक दिन पनि बढी निर्वाचन सार्न छुट नभएको बताएका छन् ।

वर्तमान सरकारले तोकिएको मितिमै निर्वाचन नगराए देश गम्भीर संकटमा धकेलिन सक्ने उनको चेतावनी छ ।प्रधानमन्त्री सुशीला कार्कीले बीबीसी नेपालीसँगको अन्तर्वार्तामा निर्वाचनको मिति १५ दिन, दुई महिना थप हुनसक्ने बताएको उल्लेख गर्दै श्रेष्ठले वर्तमान सरकारलाई त्यो कार्यादेश नभएको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘अन्तर्वार्तामा निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन, २ महिना थप पनि हुन सक्छ भन्नुभएको छ । तपाईंलाई त्यो कार्यादेश छैन । निर्वाचनको मिति १ दिन पनि पर धकेन्न मिल्दैन । तपाईंले अहिले देखि नै त्यसरी सोच्न र सार्वजनिक समेत गर्नु घातक साबित हुन सक्छ ।’

कार्कीले प्रधानमन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता उल्लघंन गरेको बताउँदै नेता श्रेष्ठले भने, ‘के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनु पर्ने हुन्छ, कम बोल्नुस् काममा केन्द्रित हुनुहोस् ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकारमा दलमा आबद्ध व्यक्तिहरूलाई सामेल गर्न अस्वीकार गरेको कुरा समेत अन्तर्वार्तामा सार्वजनिक गरेको प्रति नेता श्रेष्ठले आपत्ति जनाएका छन् ।

‘समयमै निर्वाचन सम्पन्न गर्ने कार्यबाट विचलित हुनुभयो भने वा राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रलाई कमजोर पार्ने कार्य भयो भने त्यो ठूलो दुर्भाग्य हुनेछ । गम्भीर हुनुहोस्,’ उनले भनेका छन् ।

राष्ट्रपति रामचन्द्र पाैडेलले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यादेशसहित पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here