३० भदौ।अभिमनु पटेल, रौतहट,
रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारको रुपमा पुनम कुमारी यादवले संघीय सांसद पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्।
हालै देशव्यापी रूपमा जेन-जी पुस्ताको आन्दोलनमार्फत नयाँ राजनीतिक संरचना निर्माण भएपछि विभिन्न क्षेत्रका युवायुवती राजनीतिमा सक्रिय भई अगाडि आउन थालेका छन्। त्यही सन्दर्भमा रौतहटको फतुवा विजयपुर नगरपालिका फतुवा टोल निवासी सुरेन्द्र प्रसाद यादवकी छोरी पुनम यादवले फाल्गुन २१ गते हुने संघीय निर्वाचनमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने औपचारिक जानकारी गराएकी हुन्।



राजनीतिकसँगै धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय पुनम यादव सनातनी धर्म र संस्कृति जोगाउने अभियानमा लामो समयदेखि क्रियाशील छिन्। नेपाल, भारत मात्र होइन, दुबईजस्ता मुस्लिम राष्ट्रसम्म बागेश्वरधामका पिठाधीश धिरेन्द्र शास्त्रीलाई लिएर ठूलो हिन्दू सम्मेलन र प्रवचन कार्यक्रम आयोजना गराएर उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेकी थिइन्।
यादवले क्षेत्र नं. ३ मा विगत दुई दशकदेखि देखिएको एकल शासन, भ्रष्टाचार, हत्याहिंसा, शोषण र तानाशाही अन्त्य गर्न आफू ‘दुर्गा जस्तै अवतार’ बनेर जनताको सेवामा लाग्ने प्रतिज्ञा गरेकी छिन्। उनले भनिन्, “जनताले एकपटक आफ्नी छोरी सम्झेर मलाई मत दिए भने, प्रभु साहजस्ता भ्रष्ट नेताको अध्याय क्षेत्र नं. ३ बाट समाप्त गर्नेछु।”
सत्तामा लामो समयसम्म रहँदा पनि विकासका नाममा मौलापुर नगरपालिका बाहेक अन्य क्षेत्रमा ठोस काम नभएको आरोप लगाउँदै यादवले तत्कालीन सांसद तथा आजपा अध्यक्ष प्रभु साहमाथि कडा प्रहार गरिन्। उनले भनिन्, “२० वर्षदेखि सत्तामा रहेर श्रीमतीलाई समेत दुई-दुई पटक मेयर बनाउने प्रभु साहले मौलापुर बाहेक अन्य क्षेत्रमा कुनै ठोस विकास गरेका छैनन्। जनतालाई धोका दिने, बजेट दुरुपयोग गर्ने र सस्तो लोकप्रियताका लागि महाशिवरात्रिमा अश्लील गीतमा नाच देखाउने बाहेक उसले केही गरेको छैन।”
यादवले साह परिवारमाथि गम्भीर आरोप लगाउँदै भनिन्, “देशको सम्पत्ति लुट्ने प्रभु साहकै कान्छो छोराले सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएको भनी अहिले समाजिक संजालमा देशकै शिर्ष केही पार्टीका नेताले फोटो समेत राखेर बिरोध गरेका छन् । भने ठूलो छोराले जनतालाई जेन-जी आन्दोलनको नाममा झुक्याउने काम गर्दैछ। यदि साँच्चिकै जनताको पक्षधर छन् भने पहिला आफ्ना बुवा–आमाले गरेको भ्रष्टाचार र अनियमितता उजागर गर्नुपर्थ्यो।”
यादवले आफू क्षेत्रको छोरीको नाताले राजनीति प्रवेश गरेको स्पष्ट पार्दै मतदातालाई भावनात्मक आह्वान गरिन्, “म नेता होइन, तपाईंहरूको छोरी भएर मैदानमा उत्रिएकी हुँ। मलाई साथ दिनुस्, म रौतहट क्षेत्र नं ३ मात्र होइन, पुरै जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउने जिम्मा लिन्छु।”
यादवको घोषणासँगै रौतहटको राजनीतिक वृत्तमा चासो र चर्चा थपिएको छ। लामो समयदेखि प्रभु साहको वर्चस्व रहेको यस क्षेत्रमा स्वतन्त्र युवती उम्मेदवारको अवतरणले चुनावी समीकरण बदल्न सक्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन्।
यसैबीच, हालैको जेन-जी आन्दोलनले राजधानी काठमाडौंदेखि देशका विभिन्न भागसम्म ठूलो प्रभाव पारेको थियो। सरकारी भवनदेखि नेताहरूका निवासमा आक्रमण हुँदा दर्जनौँ युवाको ज्यान गएको र सयौँ उपचाररत रहेको घटनाले देशलाई हल्लाएको थियो। सो आन्दोलनकै दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नुपरेको थियो। त्यहीँ सन्दर्भमा राष्ट्रपति र नेपाली सेनाको समन्वयमा नयाँ प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइ संघीय संसद विघटन गरिएको थियो।
त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ निर्वाचन मिति घोषणा गरेसँगै मुलुकभर चुनावी वातावरण तातिएको छ। रौतहट क्षेत्र नं ३ बाट पुनम यादवको उम्मेदवारीलाई यसै नयाँ राजनीतिक परिवर्तन र युवा पुस्ताको आन्दोलनको प्रत्यक्ष उपजका रुपमा हेरिएको छ















