सोनु कुमार महतो । गौर, अषाढ २५ – गौर नगरपालिकामा एकै रातमा हतारहतरमा कालोपत्रे गरिएको सडकप्रति स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। विकाश र समृद्धिको नाममा जनताको आँखामा छारो हालिएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका छन्।
स्थानीय मदन सहनीले सडक निर्माण कार्य यति छोटो समयमा र रातको समयमा सम्पन्न गरिनुले यसको गुणस्तर र पारदर्शितामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको बताएका छन्। उनका अनुसार, कुनै पनि पूर्वाधार निर्माणको लागि निश्चित प्रक्रिया र मापदण्ड पालना गर्नुपर्ने हुन्छ, तर यहाँ ती सबैलाई लत्याइएको प्रस्टै देखिन्छ। यसरी हतारमा गरिएको कामले दीर्घकालमा जनजीवनलाई सहज बनाउनुको सट्टा थप समस्या निम्त्याउने उनको भनाइ छ।
अर्का स्थानीय कमलेश सहनीले यस कार्यलाई ‘देखावटी’ र ‘जनताको आँखामा छारो हाल्ने’ प्रयासको संज्ञा दिएका छन्। उनले भने, “यदि वास्तविक अर्थमा जनहितका लागि र प्राविधिक मापदण्डहरूलाई पूर्ण रूपमा पालना गर्दै सडक निर्माण गरिएको भए, हामी स्थानीय बासिन्दाहरूले सहर्ष स्वागत गर्थ्यौं। तर, अहिलेको अवस्था हेर्दा यस्तो लाग्छ कि यो केवल कुनै स्वार्थ पूरा गर्नका लागि गरिएको नाटक मात्र हो।” यस प्रकारको कार्यले जनताको करको दुरुपयोग भएको र यसले पूर्वाधारको दिगो विकासमा बाधा पुर्याउने उनको आरोप छ।
स्थानीय बासिन्दाहरूले यो कार्यले दीर्घकालीन रूपमा कुनै फाइदा नपुग्ने र यसको छोटो अवधिमै सडक जीर्ण हुने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकाय, जस्तै नगरपालिका प्रशासन, पूर्वाधार विकास कार्यालय, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत यस विषयमा गम्भीर छानबिन, अनुगमन, र परीक्षण गरी दोषीमाथि यथोचित कारबाही गर्न जोडदार माग गरेका छन्। यसरी रातारात गरिएको गुणस्तरहीन कामले भविष्यमा थप दुर्घटना र असुविधा निम्त्याउन सक्ने भन्दै स्थानीयहरू चिन्तित छन्।










