सोनु कुमार महतो । गौर, अषाढ २३ – रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका–५ स्थित दुई वटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ। चोरीमध्ये एक घटना सीसीटीभी क्यामरामा समेत रेकर्ड भएको पुष्टि भएको छ।
पहिलो घटना अनुसार, भारत विहार निवासी ब्रजेश कुमार सिंहको नाममा दर्ता गरिएको BR05X3856 नम्बरको HONDA CB HORNET 160R मोटरसाइकल सोमबार राति करिब १२ बजे गौरी शंकर क्याम्पस अगाडि पार्क गरिएको ठाउँबाट हराएको छ। उक्त मोटरसाइकलको च्यासिस नम्बर MME4KC23AFH8015371, इन्जिन नम्बर KC23E84036643 रहेको छ। नीला रंगको सो मोटरसाइकल दुई सिट क्षमताको हो।
यस्तै गरी गौर नगरपालिका–५ स्थित मधुरेन्द्र शर्माको घरमा पार्क गरिएको अर्को भारतीय मोटरसाइकल, नम्बर BR30AC9620 समेत चोरी भएको छ। दोस्रो चोरीको घटना नजिकैको सिसीटिभी क्यामरामा रेकर्ड भएको जनाइएको छ।
पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा मौखिक रूपमा जानकारी गराइसकेका छन् भने थप अनुसन्धान र खोजतलासको लागि लिखित निवेदनसमेत दिएका छन्।
स्थानीयवासीहरूले चोरीका घटनाले सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी प्रशासनसँग निगरानी कडा गर्न माग गरेका छन्।














