रौतहट जिल्लाको सदरमुकाम गौर वडा न.-१ भन्सार कार्यालयभन्दा अगाडि दशगज्जा क्षेत्र नजिक जमेको बाढीको पानीमा डुबेर राजदेवी नपा वडा न. ८ कि १३ वर्षिया आस्था कुमारी, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतक सहित ७ जनाको समुहमा घास काट्न सो स्थानमा पुगेका थिए तर फर्किने क्रममा डुबेका ७ मध्ये ४ जना सकुशल निस्किएका थिए।करिव १ घण्टाको खोजी पश्चात साढे ११ बजेको समयमा तीन जना बालिकालाई फेला पार्न सफल भएपनि प्रादेशिक अस्पताल गौरमा इसिजीको माध्यमबाट परिक्षण गर्दा चिकित्सकले मृत घोषित गरेको रौतहट प्रहरीका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।
मृतक तिन बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको बताउदै सीमावर्ती क्षेत्रमा रहेका खाल्डाखुल्डीहरुमा बाढीको पानी जमेको हुँदा अभिभावकहरु आ आफना बालबालिकाहरुलाई समयमै हेरचाह नगरेको कारण आज दुखद घटना भएकोमा दुख व्यक्त गरे । अभिभावकहरु सचेत हुन पटक पटक जनहितमा सुचना जारी गर्दा समेत हेलचक्रयाई भईरहेको हुँदा अनाहकमा बालबालिकाहरु जोखिममा परिरहेको उनले बताए ।










