२३ असोज । रौतहट

प्रादेशिक अस्पताल गौरको व्यवस्थापन तथा सञ्चालक समितिका नव–नियुक्त पदाधिकारीहरूले बिहीबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश सरकारको निर्णयअनुसार समितिको अध्यक्षमा अवधेश यादव, सदस्यहरूमा ओमप्रकाश साह मधेशिया र जमुना साहलाई नियुक्त गरिएको थियो। नियुक्तिपछि तिनै जनाले आज अस्पतालमा उपस्थित भई पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले नव–नियुक्त पदाधिकारीहरूलाई खादा र माला लगाएर स्वागत गरेका थिए। सो अवसरमा समितिका अध्यक्ष यादवले भने, “प्रादेशिक अस्पताल गौर पहिले नै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको रूपमा स्थापित छ। अब हामी यसको सेवा गुणस्तरलाई झनै उन्नत र आधुनिक बनाउन प्रतिबद्ध छौं।”

यादवका अनुसार, समितिले सुविधा विस्तार, सेवा प्रभावकारिता, स्वच्छ प्रशासन र पारदर्शितामा विशेष ध्यान दिनेछ। साथै उनले प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै अत्यावश्यक स्वास्थ्य सेवा, जनशक्ति अभाव, औषधि आपूर्ति र रोग नियन्त्रणका क्षेत्रमा दिगो सुधार ल्याउने लक्ष्य रहेको बताएका छन्।

कार्यक्रममा अन्य सदस्य ओमप्रकाश साह मधेशियाले समुदायमै आधारित स्वास्थ्य सेवा प्रणाली बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे भने सदस्य जमुना साहले मातृ–शिशु स्वास्थ्य, महिला–मैत्री सेवा र स्वास्थ्य सचेतना कार्यक्रमहरूलाई प्राथमिकता दिने बताइन्।

स्थानीय सरोकारवालाहरूले नयाँ नेतृत्वबाट अस्पताल अझ जनमैत्री, सहज र विश्वसनीय सेवा केन्द्रको रूपमा विकसित हुने अपेक्षा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here