२२ श्रावण,२०८२रौतहट
“सम्पूर्ण किसान मजदूर एक होऔं, वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौं” भन्ने मूल नारासहित मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल अन्तर्गत भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन गरुडाको ए एन पार्टी प्यालेसमा हिजो सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन अघि सहभागीहरूले गरुडा नगर परिक्रमा गरी सम्मेलन स्थलमा जुलुस सहित प्रवेश गरेका थिए । सम्मेलनको प्रमुख अतिथि निर्ग नविनले काठमाडौंमा चाँडै हुने आन्दोलनका लागि सबैलाई तयार रहन आह्वान गर्दै भने, “यो केवल रौतहटको सवाल होइन, सम्पूर्ण नेपालभरका किसान मजदुरहरूको साझा लडाइँ हो। अब काठमाडौंमा निर्णायक संघर्ष गर्ने बेला आएको छ।”

कार्यक्रमको अध्यक्षता गर्दै भोजपुरा कमाण्ड इन्चार्ज तथा जिल्ला अध्यक्ष शिवशंकर महतोले भने, “वित्तीय शोषण, विशेषतः मिटरब्याजजस्ता अवैध ऋण प्रणालीका विरुद्ध अहिले सबै किसान मजदुरहरू एकजुट हुनुको विकल्प छैन। न्यायका लागि संयुक्त आन्दोलन अपरिहार्य भइसकेको छ।”
सम्मेलनको बन्द सत्रबाट शिवशंकर महतोको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष मो. ईस्लाम, सचिव राम अकलेश पटेल, सह–सचिव जुनैद अन्सारी, कोषाध्यक्ष शेख मुस्तुफा, तथा सचिवालय सदस्यहरू गुदर बैठा, गोपाल सहनी, हृदय नारायण दास लगायत अन्य सदस्य चयन गरिएका छन् ।

वक्ताहरूले मिटरब्याज पीडित किसान मजदुरको पीडा अब सहनसक्ने अवस्थामा नरहेको भन्दै, राज्यले गम्भीरता नदेखाए सशक्त आन्दोलन अपरिहार्य हुने चेतावनी पनि दिएका थिए । उदघाटन सत्रमा कार्यक्रमकाे उदघाेषण बैधनाथ सहनीले गर्नुभएको थियाे ।















