१० असोज, कञ्चनपुर ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ ।

भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच भएको विवादका विषयमा सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भट्टलाई विभागमा हाजिर हुन पत्राचार गरेको हो ।

भन्सार विभागका अनुसार, भट्टलाई हालको जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन भनिएको छ । भट्ट र एसपी केसीबीच भएको विवाद उत्पन्न सम्बन्धमा विभिन्न विवरण सार्वजनिक भएका थिए । त्यसबारे थप तथ्य बुझ्नुपर्ने आवश्यकता देखिएपछि विभागले भट्टलाई विभागमा बोलाएको जनाएको छ ।

यद्यपि, भन्सार विभागले विवादमा को दोषी वा निर्दोष भन्नेबारे कुनै निष्कर्ष सार्वजनिक गरेको छैन । थप अध्ययन तथा बुझाइपछि आवश्यक प्रक्रिया अघि बढ्ने विभागको निष्कर्ष छ ।भन्सार पास भएर आएको भनिएको भारतीय नम्बर प्लेटको गाडी सशस्त्र प्रहरीले रोकेको विषयलाई लिएर भट्ट र एसपी केसीबीच विवाद भएको थियो ।

सशस्त्र प्रहरीले रोकेको गाडी तत्काल नछोडे गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मलाई फोन गर्ने भन्दै भट्टले एसपी केसीलाई दबाब दिएको भनिएको अडियो सार्वजनिक भएको थियो ।उक्त अडियो सार्वजनिक भएपछि घटनाबारे थप चर्चा भएको थियो । विवादको वास्तविकता र घटनामा संलग्न पक्षको भूमिकाबारे भन्सार विभागले थप बुझ्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here