१६ भदौ, काठमाडौं । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । भूकम्पले ३ हजार भन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ज गरिएको छ ।
तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् ।समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, ‘हामीलाई सहयोग आवश्यक छ, किनकि यहाँ धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किए ।’
तर अहिलेसम्म कुनै पनि देश र विदेशी संस्थाले उद्धार वा राहतका लागि सहयोगको प्रस्ताव नगरेका अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । मन्त्रालयका अनुसार ३० डाक्टर प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पठाइएको अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार उद्धारकर्मीहरू पाकिस्तानी सीमावर्ती दुर्गम हिमाली बस्तीहरूमा पुग्न संघर्ष गरिरहेका छन्, जहाँ मोबाइल नेटवर्क समेत अवरुद्ध छ । ग्रामिण क्षेत्रमा भूकम्पका कारण माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएकाले जनधनको ठूलो क्षति भएको छ ।
















