१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष चुनाव अघि नियमित वा विशेष महाधिवशेनका लागि तयार नदेखिएसँगै पार्टीभित्रको विवाद थप चर्किएको छ ।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचनको तयारीमा लाग्नुपर्ने कारण देखाउँदै नियमित वा विशेष महाधिवेशन हुन नसक्ने जिकिर गरेका छन् ।दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मंसिरभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । संस्थापन पक्षका नेता डा. शेखर कोइराला नियमित महाधिवशेन सबैभन्दा उत्तम विकल्प भनिरहेका छन् ।

असोज २८ देखि सुरु भई ३० गतेबाट छलफलमा प्रवेश गरेको केन्द्रीय समिति बैठक १२ दिनका लागि स्थगित गरिएको थियो ।यो बीचको अवधिमा दुबै पक्ष आ–आफ्नो रणनीतिमा केन्द्रित रहे । एकले अर्कोलाई दबाब बढाउने रणनीति दुवैपक्षले अख्तियार गरेका छन् । केन्द्रीय समिति बैठक स्थगित भएको समयावधिमा संस्थापन पक्षले तीनपटक बैठक गर्‍यो ।चुनावअघि नियमित वा विशेष महाधिवशेन हुन नसक्ने निष्कर्षमा संस्थापन पक्ष पुगेको छ । संस्थापन पक्षको बैठकमा सहभागी केन्द्रीय सदस्य गुरु बरालका अनुसार मंसिरबाट कार्यतालिका सुरु गरेर चुनावपछि महाधिवेशन गर्नु राय नेताहरूले राखेका छन् ।

नेताहरूका अनुसार संस्थापन पक्षको बोलीमा एकमत देखिनुमा यही अवधिमा सभापति शेरबहादुर देउवासँग उनी निकटका नेताहरूको भेटघाटले पनि काम गरेको छ ।संस्थापन पक्षका एक नेताले भने, ‘सभापति देउवा सिंगापुर जानुअघि आफू निकटका शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक कुरा गर्नुभएको थियो । सभापतिको इच्छाअनुसार महाधिवेशन चुनाव अघि गर्न नसकिनेमा हामी ढुक्क छौं ।’

यही समयमा संस्थापन पक्षलाई दबाब बढाउन महामन्त्री निकटका नेताहरू पनि आन्तरिक छलफललाई जारी राखे । विशेष महाधिवशेनमा हस्ताक्षर गर्ने अगुवाहरूको बैठक बुधबार बसेको थियो ।नियमित महाधिवशेन गर्न संस्थापन पक्ष तयार नभए विशेष महाधिवेशनका लागि दबाब दिने उद्देश्यले शनिबार ‘खबरदारी भेला’ गर्न लागिएको छ । विशेष महाधिवशेनको लागि हस्ताक्षर अभियानको अगुवाई गर्ने मध्येका एक नेता नारायण भट्टराईले भने, ‘अब दुईदिन हुने केन्द्रीय समितिको बैठक हेर्छौं । उहाँहरूको मनस्थिति बुझेर शनिबार खबरदारी भेला गर्छौं ।’

नियमित महाधिवशेन नगर्ने र विशेष महाधिवशेन बोलाउन केन्द्रीय समिति तयार नभए हस्ताक्षर गर्ने प्रतिनिधिहरूले नै महाधिवशेन आव्हान गर्ने भट्टराईले चेतावनी दिए ।चार दिन बसेर रोकिएको केन्द्रीय समितिको बैठकमा महाधिवशेनको कार्यतालिका प्रवेश हुन सकेको थिएन । महामन्त्री गगन थापाले मंसिरभित्रै १५ औं महाधिवशेन गर्न सकिने दुई विकल्प सहित केन्द्रीय समितिमा पेश गर्ने तयारीमा थिए ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवशेनका प्राप्त हस्ताक्षरबारे बैठकमा जानकारी गराउने र महामन्त्रीले थापाले ‘विधानले तोकेको समयावधि भित्र नै पार्टीको १५ औं महाधिवशेन गर्नका लागि कार्यतालिका निर्माण गर्ने’ प्रस्ताव राखेर बैठक सञ्चालन गर्ने सहमति जुटेको थियो ।

महामन्त्री थापाले कार्यसम्पादन समितिमा पेश गरेको तर केन्द्रीय समितिमा बैठकको एजेण्डा हुन नसकेको कार्यतालिकामा दुई विकल्प छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here