काठमाडौंका नेवा: नेताहरूले आफूहरू राजसंस्थाको पक्षमा नभएको बताएका छन्।

विभिन्न दलका नेताहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु पुरानो राजतन्त्र र राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका हुन्।

उनीहरूले पुराना  रातन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवा: लगायत अन्तय समुदायका भाषिक, सामाजिक, सांस्कृतिक , आर्थिक रूपमा दमन गरेको बताएका छन्।

सो व्यवस्थाका विरूद्ध नेवा: लगायत सम्पूर्ण  उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित, महिला समुदायको समेत सहभागितामा वि.सं. २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको स्मरण उनीहरूले गरेका छन् ।

आन्दोलन पश्चात जारी भएको नयाँ संविधानमा यी व्यवस्थाहरू उल्लेख भए पनि उत्पीडित समुदायका भाषिक, सांस्कृतिक, आदिभूमिमा स्वशासन लगायत पहिचानजनित मागहरू भने पूरा हुन बाँकी रहेको र त्यसका लागि ती समुदायको संघर्ष जारी नै रहेको पनि उनीहरूले बताएका छन्।

जनतामा रहेका त्यही असन्तुष्टिमाथि खेलेर केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्थापनाको माग राखी प्रतिगामी शक्तिहरू चलमलाउन थालेको उनीहरूको निष्कर्ष छ।

Lev3
Laxmi bank

‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुऱ्याउने यस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापी स्वीकार्य छैन,’ विज्ञप्तिमा नेवा: नेताहरूले उल्लेख गरेका छन्।

वक्तव्यमा अगाडि भनिएको छ, ‘आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तत्वहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवांछित गतिविधिहरू गर्ने सम्भावना रहेकोले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउन समेत खबरदारी गर्दै जात्रा पर्वको महत्व र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छौं।’

Nchl
Ncell

त्यस्ता गतिविधि नियन्त्रण गर्न र संघीयता, धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय संकल्पलाई पूरा गरी नेवाः लगायत आम जनताका असन्तोषहरूलाई इमान्दारीपूर्वक सम्बोधन गर्न राज्यसत्ता एवं सम्पूर्ण राजनीतिक दलहरूलाई उनीहरूले अपील गरेका छन्।

वक्तव्यमा मल्ला के सुन्दर, हितकरवीरु सिंह कंसाकर, प्राध्यापक डा. नरेशमान बज्राचार्य, भीमसेनदास प्रधान, राजेन्द्रप्रसाद श्रेष्ठ, डा. पुष्पराज राजकर्णीकार, मुक्ति प्रधान, नरेशकुमार ताम्रकार, हिरालाल शाक्य, दिलिप महर्जन लगायत २४ नेताहरूले हस्ताक्षर गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here