२० बैशाख,२०८२/सोनु कुमार महतो , रौतहट

नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा एक अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रममा पत्रकारिताको महत्त्व, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र सञ्चारकर्मीहरूको व्यावसायिक सुरक्षा जस्ता समसामयिक विषयहरूमा गहन छलफल भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) नेत्र मणि गिरिले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको भन्दै यसको संरक्षण सबैको साझा दायित्व भएको बताएका छन्। एसपी गिरिले पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ भएकाले यसलाई निष्पक्ष, स्वतन्त्र र जिम्मेवार ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले प्रहरी प्रशासन सधैं प्रेससँग सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गर्दै पत्रकारहरूको सुरक्षाको विषयमा समेत गम्भीर रहेको धारणा राखे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले स्वागत मन्तव्य दिँदै प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको हक–अधिकारका लागि महासंघ सधैं सक्रिय रहेको बताए। उनले अभिव्यक्ति स्वतन्त्रता कुनै पनि लोकतान्त्रिक समाजको आधार भएको बताउँदै, प्रेसमाथिको कुनै पनि प्रकारको दबाब स्वीकार्य नहुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबीन्द्र साहले प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौतिहरू र समाधानका उपायहरूबारे आफ्ना विचार व्यक्त गरेका थिए। 

अन्य पत्रकारहरूले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय र सञ्चारकर्मीहरू बीच आपसी समन्वय र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा पत्रकार संजय सहनी , गौतम श्रेष्ठ, सोनु कुमार महतो , दिनेश यादव, बिना श्रीवास्तव, शिवपुरी , संजिब झा,श्रीकान्त यादव , रबीन्द्र साह, प्रवीण तिबड़ेवाल, पुष्पराज यादव लगायत नेपाल पत्रकार महासंघका सदस्य र श्रमजीवी पत्रकार संगठनका सदस्यहरू तथा रौतहट जिल्लाका विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here