गौर, रौतहट। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ निवासी राजु पासवानको परिवारलाई सामाजिक अभियन्ता सन्देश पौडेलले आर्थिक सहयोग गरेका छन्।
मिर्गौलासम्बन्धी समस्याबाट पीडित राजु पासवानको परिवारलाई राहत पुर्याउने उद्देश्यले अभियन्ता पौडेलले उनका कान्छा छोरा मिन्टु पासवानलाई करिब १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
आर्थिक अभावका कारण स्वास्थ्य उपचार तथा दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको सामाजिक अभियन्ता पौडेलले बताएका छन्। समाजमा समस्यामा परेका तथा विपन्न परिवारलाई सक्दो सहयोग गर्दै मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले आफूले सहयोग गरेको उनको भनाइ छ।
यस किसिमको सहयोगले समस्यामा परेका परिवारलाई केही राहत मिल्नुका साथै समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना बलियो बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
सामाजिक सेवामा सक्रिय अभियन्ता पौडेलको यस सहयोगप्रति स्थानीयवासीले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ।











