गौर, रौतहट। रौतहटको गौरमा आगामी मंसिर ४ गतेदेखि ‘रौतहट एक्सपो २०८३’ आयोजना हुने भएको छ। रौतहट उद्योग वाणिज्य संघ गौरले हिजो औपचारिक रूपमा एक्सपोको घोषणा गर्दै महोत्सव आयोजना गर्ने जानकारी सार्वजनिक गरेको हो।

गौरस्थित गौर राइस मिल मैदानमा १८ दिनसम्म सञ्चालन हुने यस महोत्सवले रौतहटको आर्थिक, व्यापारिक तथा सांस्कृतिक गतिविधिलाई नयाँ गति दिने आयोजकले अपेक्षा गरेको छ। जिल्लाको व्यापारिक गतिविधि विस्तार गर्नुका साथै स्थानीय बजारलाई चलायमान बनाउन रौतहट एक्सपोले महत्वपूर्ण योगदान पुर्‍याउने संघको विश्वास छ।

रौतहट उद्योग वाणिज्य संघ गौरको आयोजनामा तथा निर्माण व्यवसायी संघ रौतहटको सहआयोजनामा सञ्चालन हुन लागेको एक्सपोले जिल्लामा छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ।

महोत्सवमा नेपाली तथा भोजपुरी कला क्षेत्रका चर्चित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रनाथ गोपालीले जानकारी दिएका छन्। महोत्सवमा विभिन्न क्षेत्रका उत्पादन, व्यापारिक प्रतिष्ठान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामग्री र मनोरञ्जनात्मक गतिविधिहरूलाई समेत प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

त्यसैगरी, एक्सपोमा सहभागिता जनाउन विभिन्न उत्पादनका ब्रान्ड, व्यावसायिक प्रतिष्ठान, प्रायोजक तथा अन्य सरोकारवाला संस्थाहरूलाई आयोजकले आह्वान गरेको छ। महोत्सवलाई सफल बनाउन निजी क्षेत्र, उद्योगी, व्यवसायी तथा स्थानीय संघसंस्थाको सहभागिता र सहकार्य महत्वपूर्ण रहने अध्यक्ष गोपालीको भनाइ छ।

यसैबीच, महोत्सव सञ्चालनका लागि आवश्यक सम्पूर्ण अनुमति तथा स्वीकृतिहरू प्राप्त भइसकेको निर्माण व्यवसायी संघ रौतहटका कोषाध्यक्ष विक्रान्त नेपालले जानकारी दिएका छन्। उनका अनुसार महोत्सवलाई व्यवस्थित, सुरक्षित र सफल रूपमा सञ्चालन गर्न आवश्यक प्रशासनिक प्रक्रिया पूरा भइसकेको छ।

आयोजकका अनुसार रौतहट एक्सपो २०८३ केवल मनोरञ्जनमा सीमित नभई व्यापार, व्यवसाय, कृषि, निर्माण, स्थानीय उत्पादन, पर्यटन तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ।

१८ दिनसम्म सञ्चालन हुने यस महोत्सवले गौरसहित समग्र रौतहटको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नुका साथै स्थानीय व्यवसायी, उद्यमी तथा उपभोक्ताका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here