१८ कार्तिक ,मनिष मिश्र
रौतहट । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले रौतहटको बौधिमाई नगरपालिका वडा नं. ५ कोपवामा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्री महतोले निर्माणाधीन प्रहरी कार्यालयको भौतिक प्रगति, निर्माण कार्यको अवस्था तथा आवश्यक पूर्वाधारका विषयमा जानकारी लिनुभएको थियो।
यसैक्रममा उहाँले आगामी चाडपर्वलाई मध्यनजर गर्दै सर्लाही र रौतहट जिल्लाको समग्र सुरक्षा अवस्थाबारे समेत स्थलगत जानकारी लिनुभएको छ। दुवै जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सम्बन्धित सुरक्षा निकायले अपनाएका तयारी, सुरक्षा रणनीति तथा सम्भावित चुनौतीका विषयमा उहाँले सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको थियो।
चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई थप सतर्क, सक्रिय र जिम्मेवार भएर काम गर्न मन्त्री महतोले निर्देशन दिनुभएको छ।
प्रहरी कार्यालयको भवन निर्माणले स्थानीय क्षेत्रमा प्रहरी सेवा प्रवाहलाई सहज बनाउनुका साथै शान्ति सुरक्षा कायम गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।







मन्त्री महतोले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकास, सुरक्षा निकायबीच समन्वय र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ।















