असोज २७,२०८३ /जनकपुरधाम ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो ज्यूको अध्यक्षतामा एक महत्वपूर्ण संयुक्त सुरक्षा बैठक सम्पन्न भएको छ। प्रदेश सुरक्षा समन्वय समिति र पर्सा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सो संयुक्त बैठक जनकपुरधामस्थित गृह, सञ्चार तथा कानून मन्त्रालयमा मन्त्री महतोकै आफ्नै कार्यकक्षमा बसेको हो।

माननीय मन्त्री श्री फकिरा महतो ज्यूको मुख्य आतिथ्यता तथा अध्यक्षतामा भएको उक्त बैठकमा प्रदेश र विशेष गरी पर्सा जिल्लाको शान्ति सुरक्षाको वर्तमान अवस्था, विद्यमान चुनौती र आगामी रणनीतिक योजनाका बारेमा विस्तृत रूपमा छलफल गरिएको छ।
बैठकमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका स्थानीय प्रमुख एवं उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा मन्त्री महतोले आम नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ, भरपर्दो र चुस्त बनाउन निर्देशन दिनुभयो। साथै, समाजमा अमनचयन कायम राख्नका लागि सबै सुरक्षा निकायहरूलाई आपसी समन्वय र सहकार्यका साथ अगाडि बढ्न उहाँले विशेष आग्रह समेत गर्नुभयो।















