१८ कार्तिक ,२०८३
काठमाडौँ — सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने निर्णय गरेलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले त्यसका विरुद्ध कानुनी लडाइँ लड्ने तयारी गरेका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछि उनले आफूनिकट व्यक्तिहरूसँग छलफल गर्दै न्यायका लागि अदालत जाने स्पष्ट पारेका हुन्।
कार्कीनिकट स्रोतका अनुसार उनले सरकारको कदमप्रति तीव्र असन्तुष्टि जनाउँदै कानुनी उपचार खोज्ने निष्कर्ष निकालेका छन्। ‘यो सरकारले पहिलेदेखि नै मलाई काम गर्न दिएको थिएन, निरन्तर अप्ठ्यारो पारिरहेको थियो,’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब म यो अन्यायपूर्ण निर्णयविरुद्ध कानुनी लडाइँमा जान्छु।’
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको छ। तर, आफ्नो पदावधि छँदै सरकारले गैरकानुनी र पूर्वाग्रही ढंगले जिम्मेवारीबाट हटाएको भन्दै कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन्।















