असोज २८,२०८३ ,काठमाडौं
नयाँ दिल्ली, असोज – नयाँ दिल्लीमा आयोजित प्रथम बिमस्टेक (BIMSTEC) गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

भेटघाटका क्रममा नेपाल र भारतबीचको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन र अन्तरदेशीय अपराध नियन्त्रणका विषयमा गहन छलफल भएको थियो। यसका साथै विपद् व्यवस्थापन र पूर्वतयारीका क्षेत्रमा समेत मिलेर काम गर्ने सहमति भएको छ। सो अवसरमा गृहमन्त्री गुरुङले हालै नेपालमा आएको बाढीपहिरोका बेला भारत सरकारले पुर्याएको तत्काल र प्रभावकारी सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

भेटमा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा सामान निर्यात गर्दा भोग्दै आएको प्राविधिक अवरोध, विशेष गरी BIS प्रमाणीकरण (BIS Certification) को उल्झनबारे भारतीय समकक्षीको ध्यानाकर्षण गराउनुभएको थियो। उक्त व्यापारिक अड्चन सुल्झाउन भारतीय गृहमन्त्री शाहले सकारात्मक प्रतिक्रिया दिनुभएको छ।
भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भारत सधैं तत्पर रहेको उल्लेख गर्नुभएको छ I बिमस्टेकको इतिहासमै यो पहिलो गृहमन्त्रीस्तरीय बैठक हो, जहाँ सदस्य राष्ट्रहरूले आतंकवाद र संगठित अपराध विरुद्ध लड्न ‘दिल्ली घोषणापत्र’ समेत पारित गरेका छन्















