रौतहट | बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवमाथि नेपाल सरकारको नियमविपरीत गरिब परिवारहरूको घर भत्काएको आरोप लागेको छ। पीडितहरुले मेयर यादवले व्यक्तिगत रिसइबीका कारण आफ्ना घरहरू भत्काएको बताएका छन्।
नेपाल सरकारको निर्देशन अनुसार असार मसान्तसम्म कुनैपनि व्यक्तिको घर भत्काउने अनुमति छैन। तर, मेयर प्रदीप यादवले सो नियमको उल्लंघन गर्दै असार मसान्तअघि नै घर भत्काउने कार्य गरेका छन्।
पीडित महादेव राय यादव, सिकिलदेव राय यादव, धर्मदेव राय यादव, हर्देव राय यादव, गंगनदेव राय यादव लगायतले आफ्नो घर भत्काइएपछि गम्भीर पीडा ब्यक्त गरेका छन्। उनीहरुले आरोप लगाएका छन् कि यो कार्य व्यक्तिगत रिसइबीका कारण भएको हो।
यसैबीच, पिडितहरूले मेयर यादव आफैंले पालिकाभित्र विभिन्न स्थानमा करिब ५ कठ्ठा अलानी (सरकारी) जग्गा कब्जा गरेको दाबी गरेका छन्।
उक्त घटना पश्चात स्थानिय बासिन्दाहरू आक्रोशित भएका छन् र सम्बन्धित निकायसँग न्यायको माग गरेका छन्। यता मेयर प्रदीप यादवले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।










