रौतहट, गौर — रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका–५ स्थित पशु सेवा तथा पशु विज्ञ अस्पतालको सामुन्ने सडक वर्षौंदेखि अत्यन्तै दयनीय अवस्थामा रहेको छ।
सडकको बीचमै नाला बग्ने अवस्था रहेको र वर्षौंदेखि त्यही फोहोर पानी सडकमा जमिरहेकाले यहाँका सर्वसाधारण दैनिक दुःख पाउँदै आएका छन्। स्थानीय संजीव गुप्ताको घरको छेउबाटै बग्ने उक्त नालाले झन् समस्या थपिदिएको छ।
स्थानीयहरू भन्छन् – “वर्षौं बितिसक्यो, तर हालत जस्ताको तस्तै छ। न त सडक मर्मत भयो, न नाला व्यवस्थापन।”
यस क्षेत्रका वडाध्यक्ष शिवशंकर यादवको ध्यान कहिले जान्छ भन्ने स्थानीयको प्रमुख जिज्ञासा बनेको छ।
स्थानीय तहका जनप्रतिनिधिले समाधानको प्रतिबद्धता जनाउँदै आएका छन् तर व्यावहारिक रूपमा स्थिति भने उस्तै छ। अब पनि जिम्मेवार निकायले समयमै ध्यान नदिए अझ ठूला स्वास्थ्य समस्या निम्तिन सक्ने स्थानीयको चिन्ता छ !















