२३ असोज, काठमाडौं। नेकपा एमालेका नेता महेश बर्तौलाले जेनजी विद्रोहको क्रममा प्रहरीबाट लुटिएका हतियार कहाँ छ भन्ने बारे अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई शतप्रतिशत थाहा भएको जिकिर गरेका छन् ।
विहीबार सामाजिक सञ्जालमा एक स्टाटसमा नेता बर्तौलाले गृहमन्त्री अर्यालले आन्दोलनमा घुसपैठको नेतृत्व गरेको आरोप पनि लगाएका छन् ।‘प्रहरीबाट लुटिएका बन्दुक, गोली लगायतका हतियारहरू कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्दछ’ उनले लेखेका छन्, ‘किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन् ।
उनले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्ने लेखेका छन् ।नेपालको इतिहास, सम्पदा र दस्तावेजहरू छानी–छानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यवसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका प्रायोजित उत्प्रेरक समेत अर्याल रहेको उनको आरोप छ ।



‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन् यिनी’ उनी लेख्छन्, ‘शुद्ध नेपाली जेनजीहरूले पनि यो कुरा बुझून् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए ।’
सपथग्रहण लगत्तै फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरू रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन दिएको भन्दै उनले गृहमन्त्री अर्यालमाथि प्रश्न उठाएका हुन् ।
गृहमन्त्रीको निर्देशनका कारण अहिले मुलुकमा अराजकता, दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको उनको आरोप छ ।
उनी थप लेख्छन्, ‘त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्य विरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनु पर्दछ ।’















