रौतहट, १९ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ गौरमा चुनावी सम्पर्क कार्यालय उदघाटन गरिएको छ ।

पार्टीको सम्पर्क पार्टी कार्यालयका उदघाटन मन्तव्य दिदै रौतहट क्षेत्र नम्वर १ का उम्मेदवार योगेन्द्र यादवले क्षेत्र नम्वर १ का क्षेत्रका लागि आफ्ना प्रमुख चुनावी प्राथमिकता सार्वजनिक गरेका हुन् ।

उम्मेदवार यादवले चुनावमा फरक पहिचान र एजेन्डासहित जनतामाझ जाने पार्टी भएको दाबी गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादव तथा वरिष्ठ नेता महन्थ ठाकुरको नेतृत्वमा देशको स्वाभिमान, सम्मान र समानताका लागि संघर्षरत रहेको बताए ।

उम्मेदवार यादवले केही दिन अघि पत्रकार सम्मेलन मार्फत प्रमुख एजेन्डा सार्जजनिक गरेको स्मरण गर्दै पहिलो प्राथमिकतामा पूर्वतर्फको वागमती नदी, पश्चिम तर्फको लालबकैया नदी तथा बीचको झाँझ नदीका कारण हुने बाढी नियन्त्रणका लागि तटबन्ध मर्मत तथा नयाँ संरचना निर्माणलाई राखिएको छ ।

दोस्रो प्राथमिकतामा शिक्षा क्षेत्र सुधारलाई राख्दै उनले संघीय राजधानी र प्रधानमन्त्रीबाट प्रतिनिधित्व पाएको क्षेत्र भएर पनि शिक्षा प्रणाली कमजोर हुनु दुःखद भएको टिप्पणी गरे । गुणस्तरीय पाठ्यक्रम, युवामुखी शिक्षा र सीप विकासमा जोड दिइने उनको भनाइ थियो ।

तेस्रो प्राथमिकतामा रोजगारी सिर्जनालाई राख्दै यादवले १ नम्वर क्षेत्रमा आधुनिक उद्योग स्थापना गरी कम्तीमा १० हजार रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता जनाए । बेरोजगारीका कारण लाखौँ युवा विदेशिन बाध्य भएको अवस्थालाई अन्त्य गर्न स्थानीय उद्योग अपरिहार्य रहेको उनले बताए ।

चौथो प्राथमिकतामा जातीय विभेद, छुवाछूत तथा दलित, मुस्लिम र सीमान्तकृत समुदायमाथि हुने भेदभाव अन्त्य गर्ने विषय समेटिएको छ । उनले समानता, स्वाभिमान र सम्मानमा आधारित समाजवादी व्यवस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

योगेन्द्र यादवले समाजमा धर्म, जात, वर्ग र उच्च–निचका आधारमा हुने सबै किसिमका विभेद अन्त्य गर्दै सामाजिक न्यायसहितको विकास नै जसपा नेपालको लक्ष्य भएको बताए ।

सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य बाबुलाल साह, पूर्व सभासद निलम वर्मा, वरिष्ठ मधेशी नेता श्रीमन नारायण मिश्र सहितका नेता एवं कार्यकर्ताहरुले सम्बोधन मन्तव्य राखेको थियो ।

जिल्ला अध्यक्ष भरत साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here