असोज १४,२०८३

हल्ला र भावनाको भरमा निर्णय लिने खुद्रा लगानीकर्ताको बाक्लो उपस्थिति नेपाली बजारमा जोसुकैलाई विनाजाँच इन्ट्राडे कारोबार गर्न दिने हो भने त्यसले सामाजिक र वित्तीय विचलन निम्त्याउन सक्ने देखिन्छ।नेपाली पुँजी बजारले पछिल्ला तीन दशकमा प्रविधिको क्षेत्रमा सुखद र लामो यात्रा तय गरेको छ।

खुला बोलकबोलबाट सुरु भएर अनलाइन स्क्रिन, डिम्याट खाता र टी+२ फर्स्योटसम्म आइपुग्दा दोस्रो बजारको आकार, पहुँच र लगानीकर्ताको सहभागितामा उल्लेखनीय विस्तार आएको छ।

तर प्रविधिको यो विकाससँगै बजारको कारोबार संरचना भने अझै डेलिभरीमा आधारित कारोबारमै सीमित रहेको देखिन्छ।सेयर किन्नेले पूरै पैसा हाल्नुपर्ने र बेच्नेको खातामा पहिल्यै सेयर मौज्दात हुनुपर्ने बाध्यताले बजारलाई सीमित पुँजी र ठूला लगानीकर्ताको मनोदशामा निर्भर बनाइदिएको गुनासो आमलगानीकर्ता तथा विषयविज्ञहरूबीच छ। यसले बजारमा अल्पकालीन तरलता उपलब्ध गराउने डे ट्रेडर वा मध्यस्थकर्ताको अभाव देखिन्छ।

नतिजास्वरूप- खरिद र बिक्री मूल्यको अन्तर अस्वाभाविक रूपमा फराकिलो रहने, मार्केट डेप्थ साँघुरिने र माग तथा आपूर्तिमा आधारित वास्तविक मूल्य पहिचान गर्ने प्रक्रिया कमजोर बन्ने संरचनागत समस्या देखिएको छ।

यस पृष्ठभूमिमा सेबोनले सार्वजनिक गरेको नेपालमा धितोपत्रको इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र–२०८३ नेपाली पुँजी बजारलाई आधुनिक वित्तीय बजारमा रूपान्तरण गर्ने समयसापेक्ष नीतिगत अग्रसरताका रूपमा आएको देखिन्छ। प्राथमिक बजार सुधार्दै दोस्रो बजारलाई चलायमान बनाउन नियामकको यो तत्परता प्रशंसनीय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here