राजविराज — मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोसहितका संयुक्त बजार अनुगमन टोलीले सप्तरीको राजविराज बजारका उद्योग र होटेलमा छड्के अनुगमन गरेका छन् । टोलीले मिलन बेकरी एण्ड स्वीट्स तथा डेरी उद्योग, शिवम् डेरी उद्योग र यम्मी स्वीट्समा बुधबार छड्के अनुगमन थिए ।

मिलनमा प्रयोग गर्न नमिल्ने अवस्थाका खाने तेल (पीटीएम प्रतिशत २४ भन्दा बढी) भेटिँदा ३५ लिटरजति तेल नष्ट गरेर १० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश महतोले बताए ।

‘सो तेल प्रयोग गरेर बनाइएको वस्तु खाँदा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने भएकाले तेल नष्ट गरेर हामीले ठाउँको ठाउँ कारबाही गरेका छौं,’ उनले भने, ‘हामीले सचेत गराउँदै आवश्यक निर्देशन पनि दिएका छौं, अब उपरान्त पनि त्यस्तो पाइए थप कानुनका प्रक्रिया अघि बढाउँछौं ।’

उनकाअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको छ भने प्रयोगशाला पनि सुधार गर्न सुझाव दिइएको हो । शिवम् डेरी उद्योगले खुला प्लाष्टिकमा खुवा राखेको भेटिएपछि ८/१० पोका खुवा नष्ट गरिएको छ ।  

छड्केमा यम्मी स्वीटस् कर्नरमा पनि बिग्रिन लागेको अवस्थाका खाने तेल भेटिएको थियो । त्यहाँ पनि २० लिटरजति तेल नष्ट गरिएको छ । यम्मी र शिवम् डेरी सञ्चालकलाई पनि सचेत गराइएको छ । छड्केपछि मन्त्री महतोले बजार अनुगमनका कार्यलाई निरन्तरता दिन निर्देशन दिए । ‘उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्नेमाथि कारबाही गर्न कुनै अवस्था सम्झौता हुनु भएन,’ उनले भने, ‘व्यवसायी र उद्योगीलाई पनि गम्भीर बन्न आग्रह छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here