१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ८ जना नेतालाई अनुशासन विपरीतको गतिविधिमा कार्य गरेको भन्दै स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा भएका पार्टीहित विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर कारबाही गर्ने प्रक्रिया अघि बढाइएको हो ।

राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा हो–हल्ला गरेको भन्दै चार जनालाई स्पष्टीकरण सोधिएको छ ।केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, काठमाडौं ४ का अध्यक्ष रिद्धिप्रताप राणा र असन्तुष्ट पक्षले युवा संगठन काठमाडौंको जिल्ला अध्यक्ष बनाएका ज्योति लामालाई स्पष्टीकरण सोधिएको राप्रपा सचिवालय स्रोतले जानकारी गराएको छ । २८ साउनमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा हुलदंगा गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको हो ।

त्यो अधिवेशन भाँड्नको लागि पार्टीसँग असम्बन्धित व्यक्तिहरू राखेर चाहिँ भेला र प्रशिक्षण गरिएको थियो । अधिवेशन स्थलमा पार्टी भन्दा बाहिरका मान्छेहरू लिएर आएर हो–हल्ला गर्ने अवरोध गदाए कार्यक्रम प्रभावित भयो,’ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन निकट एक नेताले भने, ‘अधिवेशन स्थगित भइसकेपछि समिति घोषणा गरेर हिँडे । स्पष्टीकरण सोधिएको  थियो । उनीहरू चारै जनाले स्पष्टीकरण दिएका छन् ।’

अनुशासन समितिको बैठक बसेर उनीहरूलाई कारबाही गरिने ती नेताले जानकारी गराए ।रिद्धिप्रताप राणाले कार्यसम्पादन समितिमा बोलेको विषयलाई लिएर नेता ठाकुर मोहन श्रेष्ठलाई आक्रमण गरेको आरोप समेत लागेको थियो । लिङ्देन निकट ती नेताले भने, ‘त्यो बेलामा रिद्धिप्रतापलाई कारबाही गरेको थियो ।’सुर्खेतको केन्द्रीय कार्यालय तालाबन्दी गर्न उक्साएको आरोपमा अन्य तीन नेतालाई पनि कारबाही प्रक्रिया सुरु गरिएको छ । अध्यक्ष लिङ्देनले पदमुक्त गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीको गृहजिल्ला सुर्खेतमा पार्टी कार्यालय तालाबन्दी गर्न उक्साएको दाबी संस्थापन पक्षले गरेको छ ।

केन्द्रीय सदस्य जनक सिंह, भिमबहादुर शाही र तालाबन्दीमा संलग्न भएकोमा युवक संगठनको नेता प्रेम बिसी र लक्ष्मी कुमारी सार्कीलाई स्पष्टीकरण सोधिएको छ ।लक्ष्मी कुमारी सार्कीले  अनधिकृत रुपमा  कार्यसमितिको बैठक राखेको जानकारी गराइएको छ ।

‘अनुशासन समितिले स्पष्टीकरण सोधेको छ । सबै स्पष्टीकरणहरू प्राप्त भइसकेका छन् । रोशन कार्की नेतृत्वको अनुशासन समितिले कारबाही प्रक्रिया अगाडि बढाउँदै छ,’ सचिवालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here