३१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको अन्तिम तयारीका लागि यूएई जाँदैछ ।
यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै लगातार दोस्रो अनि समग्रमा तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य हुनेछ ।दुई साताअघि अस्ट्रेलिया टुरबाट फर्किएको नेपाली टोली केही समयको विश्रामपछि वेस्टइन्डिजसँगको युनिटी कप टी-२०आई शृंखलाको तयारीमा जुटेको थियो ।
शृंखलामा सहभागी हुने नेपाली टोलीको पनि घोषणा भइसकेको छ । नेपाली टोली १९ वा २० सेप्टेम्बर (३ वा ४ असोज)मा यूएई प्रस्थान गर्नेछ ।यसबीचमा नेपालमा जेनजी आन्दोलन चर्किएपछि केही दिन काठमाडौंको माहोल अस्तव्यस्त बनेको थियो जसका कारण तयारी पनि केही प्रभावित हुन पुग्यो ।
नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजकै लागि भनेर त्यस्तो छुट्टै तयारी गरेको छैन । अस्ट्रेलियाबाट दुई साताअघि मात्र फर्किएको नेपाली टोलीले केही दिन मात्र ब्रेक लिएर फेरि नियमित प्रशिक्षण सुरु गरेका थिए ।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरूले सेल्फ ट्रेनिङ पनि गरिरहेका छन् । छुट्टै क्याम्प भनेर राखिएको छैन । ‘अब हाम्रो मुख्य तयारी भनेको अस्ट्रेलिया टुर नै थियो, अहिले त्यस्तो ठुलो तयारी भनेर केही छैन, खेलाडीहरूले गरिरहेका छन् त्यही नै हो’ लामाले अनलाइनखबरसँग भने ।















