जलेश्वर, २१ असोज ।
जनताको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै मन्त्री फकिरा महतोले जलेश्वरका विभिन्न मिठाई तथा दूधजन्य खाद्य पदार्थ पसलहरूमा आकस्मिक अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले जलेश्वरको दुर्गा चोकस्थित ‘श्री राजकुमार मिठाई पसल’ लगायतका विभिन्न होटल तथा पसलहरूको वस्तुस्थितिको निरीक्षण गर्नुभयो। सो क्रममा मानव स्वास्थ्यलाई खानी पुर्याउने खालका, म्याद गुज्रिएका (डेट एक्सपायर) मिठाई तथा दूधबाट बनेका विभिन्न अखाद्य सामग्रीहरू फेला परेपछि ती सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

बजारमा चाडपर्व वा अन्य समयमा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड हुन नदिन मन्त्री महतो आफैं अग्रसर भएर बजार अनुगमनमा उत्रिनुभएको हो। अनुगमन पश्चात् कुरा गर्दै मन्त्री महतोले जनताको हित र स्वास्थ्य रक्षाका लागि आफू सदैव प्रतिबद्ध रहेको र यस्ता विकृतिविरुद्ध निरन्तर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो।






उहाँले उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खाद्य सामग्री मात्र बिक्री वितरण गर्न व्यवसायीहरूलाई निर्देशन दिनुभएको छ। उक्त अनुगमन टोलीमा मन्त्री महतोका साथै जिल्लाका प्रमुख व्यक्तित्वहरू, सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो। बजारमा मन्त्री आफैं आएर अनुगमन गरेपछि स्थानीय सर्वसाधारणले यस कार्यको प्रशंसा गरेका छन्।















