१८ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ पछिल्लो समय नेपाली राजनीतिमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहसलाई तीव्र भइरहेका बेला सुरु भएको महाधिवेशनलाई पुस्तान्तरणको मञ्चका रूपमा हेरिएको छ ।
काठमाडौंको खुलामञ्चमा आइतबार उद्घाटन भएको १५औं महाधिवेशन विगतका महाधिवेशनभन्दा फरक देखिएको छ । विशेषतः युवा पुस्ताको उल्लेख्य उपस्थितिले यसपटकको महाधिवेशनलाई कांग्रेसको नेतृत्व संरचनामा पुस्तान्तरणको फड्को मार्ने महाधिवेशनका रूपमा लिइएको छ ।
कांग्रेसले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा प्रतिनिधि छनोट गर्दा नै महाधिवेशनबाट युवा पुस्ता केन्द्रीय नेतृत्वमा पुर्याउने आधार तयार गरेको थियो । कांग्रेसले विशेष महाधिवेशनमार्फत विधान संशोधन गर्दै वडादेखि केन्द्रसम्मका पार्टी संरचनामा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको थियो ।
१५औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विगतमा नेतृत्वको वरिपरि सीमित हुने गरेको युवा सहभागिता यसपटक प्रतिनिधि तह हुँदै नेतृत्वको दाबेदारीसम्म पुगेको छ ।कांग्रेसले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेका कारण यसपल्ट देशभरबाट महाधिवेशन प्रतिनिधि बनेर आउने युवाको संख्या बढेको छ ।















